


नवदुर्गा भन्नाले दुर्गा भगवती, हिन्दु धर्मावलम्वीहरूकी एक शक्तिस्वरूपा, देवीलाइ बुझिन्छ । महादुर्गा भवानीले सत्ययुगमा महिषाशुर (दानव) को कुकृत्यबाट मानव जगतलाइ मुक्ति दिलाएकोा शास्त्रहरूमा उल्लेख छ ।नवदुर्गा भवानीका नौ रूपको आश्विन शुक्लपक्ष प्रतिप्रदाकाका दिनदेखी महानवमीका दिनसम्म क्रमशः एक एक दिन गरी नौ दिनसम्म पुजा गर्ने गरिन्छ ।
नौ रूप
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा: प्रकीर्तिता:।
उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना:।।
शैलपुत्री
वंदे वांच्छितलाभायाचंद्रार्धकृतशेखराम्।
वृषारूढांशूलधरांशैलपुत्रीयशस्विनीम्॥
पूणेंदुनिभांगौरी मूलाधार स्थितांप्रथम दुर्गा त्रिनेत्रा।
पटांबरपरिधानांरत्नकिरीटांनानालंकारभूषिता॥
प्रफुल्ल वदनांपल्लवाधरांकांतकपोलांतुंग कुचाम्।
कमनीयांलावण्यांस्मेरमुखीक्षीणमध्यांनितंबनीम्॥
वंदे वाद्द्रिछतलाभाय चंद्रार्धकृतशेखराम।
वृषारूढां शूलधरां शैलपुत्री यशस्विनीम्॥
नवरात्रिको पहिलो दिन पूजा गरिने देवीलाई शैलपुत्री भनिन्छ। यी नवदुर्गामध्ये पहिलो स्वरूपकी देवी हुन्। "शैल" भन्नाले पर्वत र "पुत्री" भन्नाले छोरी भन्ने अर्थ हुन्छ। पर्वतराज हिमालयको घरमा पुत्रीका रूपमा जन्म लिएकी भएकाले उहाँको नाम शैलपुत्री परेको हो। यस कारण उहाँलाई पार्वती, सती, भवानी, हेमवती, दुर्गा आदि विभिन्न नामले पनि पुकारिन्छ।
देवी शैलपुत्री वृषभ (साँढे)मा आरूढ हुनुभएकोले उहाँलाई वृषारूढा पनि भनिन्छ। दायाँ हातमा त्रिशूल र बायाँ हातमा कमल धारण गर्नुभएको छ। यस स्वरूपमा देवीलाई साहस, शुद्धता र भक्ति शक्ति प्रदान गर्ने माताको रूपमा मानिन्छ।
व्रह्मचारणी
दधाना करपद्माभ्यामक्षमाला-कमण्डलू ।
देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा॥
नवरात्रि पर्वको दोस्रो दिन माँ ब्रह्मचारिणीको पूजा गरिन्छ। ब्रह्मचारिणीको अर्थ हो– तपस्या गर्ने आचारवाली। भगवान शंकरलाई पति पाउने उद्देश्यले उनले कठोर तपस्या गरिन्। उनको तपस्याले उनी तपश्चारिणी अर्थात् ब्रह्मचारिणीको रूपमा परिचित भइन्। भक्ति र श्रद्धाले ब्रह्मचारिणीको पूजा गर्दा साधकलाई सर्वसिद्धि प्राप्त हुन्छ। यस दिन साधकले आफ्नो मनलाई देवीको चरणमा लगाएर ध्यान, पूजा र व्रत गर्छन्। उनका जीवनकथा अनुसार उनले पूर्वजन्ममा हिमालयको घरमा जन्म लिएर नारदजीको सल्लाह अनुसार भगवान शंकरलाई पति पाउने कठोर तपस्या गरिन्। हजारौं वर्षसम्म फलफूल मात्र खाएर, वर्षा र घाम सहेर, बिल्वपत्र खाएर, निर्जल र निराहार रहँदै उनले तपस्या जारी राखिन्। पत्तो मात्र खान छोडेपछि उनलाई अपर्णा नामले पनि चिनिन्थ्यो। कठिन तपस्याका कारण उनको शरीर निकै क्षीण भयो। देवता, ऋषि, सिद्ध र मुनिहरूले उनको तपस्याको प्रशंसा गरे र भगवान शंकर प्राप्त हुने भविष्यवाणी गरे।
चन्द्रघण्टा
पिण्डजप्रवरारूढा चण्डकोपास्त्रकेर्युता।
प्रसादं तनुते मह्यं चन्द्रघण्टेति विश्रुता॥
नवरात्रि पर्वको तेस्रो दिन माँ चन्द्रघण्टाको पूजा गरिन्छ। चन्द्रघण्टा देवीको मस्तकमा आधा चन्द्राकार आकारको चन्द्र हुन्छ र उनको शरीर सुनझैँ चम्किलो हुन्छ। उनका दस हात छन् र खड्ग, अस्त्र तथा अन्य शस्त्रले सजिएका छन्। सिंहमा सवार उनले युद्धको लागि तयार मुद्रा लिन्छिन्। उनको घण्टे जस्तै आवाज अत्याचारी र राक्षसलाई डराउँछ। चन्द्रघण्टा देवीको आराधनाले साधकलाई अलौकिक वस्तुहरूको दर्शन, दिव्य सुगन्ध र अनौठा ध्वनिहरूको अनुभव गराउँछ। यस दिन साधकले मन, वचन र कर्मलाई पवित्र बनाएर विधिपूर्वक पूजा गर्दा वीरता, निर्भयता, सौम्यता र विनम्रता विकास हुन्छ। उनको कृपाले साधक सबै दुःखबाट मुक्त भइ सहजै परम पदको अधिकारी बन्न सक्छ। चन्द्रघण्टा देवी कल्याणकारी हुन् र उनको शरणमा आएर भक्तजनले जीवनमा शक्ति, साहस र शान्ति प्राप्त गर्न सक्छन्।
कूष्माण्डा
सुरासम्पूर्णकलशं रुधिराप्लुतमेव च।
दधाना हस्तपद्माभ्यां कूष्माण्डा शुभदाऽस्तु मे॥
नवरात्रि चौथो दिन माँ कूष्माण्डाको पूजा गरिन्छ। उनको नाम “कूष्माण्डा” त कुम्भ वा कूष्माण्डको कारणले आएको हो। सृष्टि नभएको समय, चारैतिर अन्धकार फैलिएको थियो। उनले हल्का हास्यले ब्रह्माण्डको सृष्टि गरेकी हुनाले सृष्टिकर्त्रीको रूपमा परिचित छन्। आठ भुजा भएकी कूष्माण्डाको सात हातमा कमण्डल, धनुष, बाण, कमल, अमृत कलश, चक्र र गदा छन्, र आठौं हातमा जप माला राखिएको छ। उनका वाहन सिंह हुन्। कूष्माण्डाको आराधनाले रोग, शोक र दुःख नष्ट हुन्छन्, जीवनमा आयु, बल, यश र आरोग्य प्राप्त हुन्छ।
स्कन्दमाता
सिंहासनगता नित्यं पद्माश्रितकरद्वया।
शुभदाऽस्तु सदा देवी स्कन्दमाता यशस्विनी॥
पाँचौं दिन माँ स्कन्दमाताको पूजा गरिन्छ। उनले भगवान स्कन्द (कुमार कार्तिकेय)लाई काखमा लिएर राखेको रूपमा विग्रह गरिएको छ। चार भुजा भएकी देवीले वरद मुद्रा, कमल पुष्प र पुत्रलाई गोदमा समातेकी छन्। सिंहमा सवार उनले भक्तलाई ज्ञान, शक्ति र मोक्ष प्राप्त गराउँछिन्। स्कन्दमाताको कृपाले साधकमा चेतना, विद्या र आध्यात्मिक उन्नति बढ्छ।
कात्यायनी
चन्द्रहासोज्ज्वलकरा शार्दूलवरवाहना।
कात्यायनी शुभं दद्याद्देवी दानव-घातिनी॥
छैठौं दिन माँ कात्यायनीको पूजा गरिन्छ। कात्यायनी अमोघ फलदायिनी र वीर शक्ति सम्पन्न देवी हुन्। चार भुजा भएकी उनले अभय मुद्रा, वर मुद्रा, तलवार र कमल धारण गर्नु भएको छ। उनका भक्तहरूलाई अर्थ, धर्म, काम र मोक्षको प्राप्ति हुन्छ। जन्मका पाप र रोग, भय र संताप समाप्त हुन्छन्। उनका दर्शनले भक्तलाई साहस, शक्ति र सफलता प्राप्त हुन्छ।
कालरात्री
एकवेणी जपाकर्णपूरा नग्ना खरास्थिता।
लम्बोष्ठी कर्णिकाकर्णी तैलाभ्यक्तशरीरिणी॥
वामपादोल्लसल्लोहलताकण्टकभूषणा।
वर्धन्मूर्धध्वजा कृष्णा कालरात्रिर्भयङ्करी॥
सातौं दिन माँ कालरात्रिको पूजा गरिन्छ। उनका शरीरको वर्ण गाढा कालो छ। तीन नेत्र र खड्ग, तलवार, लोहेको काँटा जस्ता अस्त्रहरूले सुसज्जित छन्। उनका वाहन गधो (गद्रभ) हो। कालरात्रिको आराधनाले असुरी शक्तिहरू भाग्छन् र भक्तलाई भयमुक्ति, सुरक्षा र शक्तिशाली बनाउँछ। उनका स्मरणले ग्रहबाधा, रात्रीभय र शत्रुशक्ति नष्ट हुन्छन्।कालरात्रीको स्वरूप भयानक भए पानी अत्यन्त शुभ फल दिने देवी हुन्। कालरात्रीको स्वरूपको प्रभावले सम्पूर्ण राक्षस, भूत, प्रेत, पिसाच तथा नकारात्मक उर्जा नाश हुने विश्वास लिइन्छ।
महागौरी
श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः।
महागौरी शुभं दद्यान्महादेव-प्रमोद-दा॥
आठौं दिन माँ महागौरीको पूजा गरिन्छ। उनका शरीरको वर्ण गौरवर्णीय छ र श्वेत वस्त्र तथा आभूषणले सुसज्जित छन्। चार भुजा भएकी महागौरीले अभय मुद्रा, वर मुद्रा, त्रिशूल र डमरू धारण गर्नु भएको छ। उनका वाहन वृषभ (सिंह) हो। महागौरीको पूजा गर्दा भक्तका पूर्वसंचित पाप नष्ट हुन्छन्, क्रमशः धुलिन्छन् र जीवनमा शान्ति, सौन्दर्य र सुख प्राप्त हुन्छ।महागौरीको उपासना गर्नाले उपासकको सबै खाले पाप तथा कुकर्म नाश भएर जाने विश्वास लिइन्छ। महागौरीको कृपाले भक्तले भविष्यमा सन्ताप, दु:ख भोग्नु पर्दैन, उ सबै प्रकारले पवित्र बन्छ र अक्षय पुण्यले युक्त हुन्छ भन्ने मानिन्छ।
सिद्धिदात्री
नवरात्रि अन्तिम दिन माँ सिद्धिदात्रीको पूजा गरिन्छ। उनी सर्वसिद्धि प्रदान गर्ने देवी हुन्। दाहिने हाथमा चक्र र गदा, बाँया हातमा शंख र कमल पुष्प लिएर सिंहमा आसीन छन्। सिद्धिदात्रीको आराधनाले लौकिक र परलौकिक सम्पूर्ण कामना पुरा हुन्छ। साधकले विधिपूर्वक पूजा गर्दा अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्व जस्ता आठ सिद्धि प्राप्त गर्छन्।सिद्धिदात्री सम्पूर्ण सिद्दी प्रदान गर्ने देवी हुन्। यी देवीको पूजा गर्नाले बाँकी देवीको पनि स्वयं उपासना हुने मान्यता छ। भगवान शिवले पनी यिनै देवीको कृपाले आठ सिद्दी प्राप्त गरेको मान्यता छ। सिद्धिदात्रीको कृपाले शिवजी ले अर्धनारेश्वर (आधा शरीर देवीको) रुप धारण गरेको मानिन्छ।
Your email address will not be published. Required fields are marked *
0 Comments